१६ मंसिर, अछाम ।
अछामको साफेबगर नगरपालिका ३ डिक्रेनीमा एक महिलाको छाउपडी गोठमा मृत्यु भएको छ ।
२१ वर्षीया पार्वती रावतको घरभन्दा करिब १०० मिटर टाढा रहेको गोठमा ज्यान गएको इलाका प्रहरी कार्यालय साफेबगरका प्रमुख नरपती भट्टले जानकारी दिए।
गोठमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । बिहान घरमा नआएपछि र जेठाजु छत्र रावतले बोलाउँदा नबोले पछि गोठको ढोका फोडेर भित्र हेर्दा उनी मृत भेटिएकी हुन्।
महिनावरी भएको ४ दिनमा उनको मृत्यु भएको हो । उनका श्रीमान करन रावत रोजगारीका लागि भारतमा छन्। मृतकको माइती घर मेल्लख गाउँपालिक ७ नन्देगडा हो ।
१८ महिना पहिले उनले प्रेम विवाह गरेको थिइन् ।आइतबार साँझ खाना खाएर सुतेकी रावत सोमबार बिहान मृत भेटिएकी हुन् । डिक्रेनीमा विवाहित महिलालाई ६ दिन र अविवाहितालाई ७ दिनसम्म गोठमा राख्ने चलन छ। हालसम्म अछामा १५ जनाभन्दा बढीको गोठमै ज्यान गइसकेको छ ।