१९ मंसिर, काठमाडौँ ।
संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ । स्वरसम्राट नारायण गोपालको २९ औें स्मृति दिवसका अवशरमा नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो ।
थापालाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गरे । गजमेर कार्यक्रमका अनुपस्थित थिए । उनी काम विशेषले बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहनुभएको कोषले जनाएको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले स्वरसम्राट नारायण गोपालको स्मृतिसभामा सहभागि हुन पाउनु आफ्नो सौभाग्य भएको बताए । सुख र दुःखमा मात्रै नभएर फुर्सद मिलाएर जुनसुकै समयमा पनि मन्त्रालयमा भेट्न आउन अनुरोध गर्दै उनले घरपरिवारको बीचमा गाह्रो हुँदा समेत सम्झिन आग्रह गरे ।
कोषको नयाँ निर्माण हुने भवनको शिलान्यास समेत गरिएको छ । महानगरका प्रमुख शाक्यले भवनको शिलान्यास गरेका हुन् । कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा हुनुभएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त छन् ।