३ पौष, काठमाडौं । विश्वकैै ठूलो लोकतन्त्र रहेको देश भनिने भारत नरेन्द्र मोदीको नेतृत्वमा अधिनायकवादतर्फ उन्मुख हुँदैछ भन्ने पछिल्ला घटनाक्रमले देखाउँछ ।
नागरिकता कानुनको विरोधमा भइरहेको देशव्यापी प्रदर्शन दबाउन सरकार ती सबै उपाय अपनाउँदैछ, जुन अधिनायकवादी शासनले प्रयोग गर्दै आएका छन् । यसको पछिल्लो उदाहरण हो, इन्टरनेट बन्द ।
जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि चर्किंदो प्रदर्शन रोक्न राजधानी नयाँदिल्लीकै केही भागमा इन्टरनेट बन्द गरिएको स्क्रोल डटइनले लेखेको छ ।
रिलायन्स, जियो र भोडाफोन लगायत इन्टरनेट सेवाप्रदायकहरूले दिल्लीका केही भागमा इन्टरनेट सेवा बन्द गरेको जनाएका छन् । प्रदर्शन रोक्न दिल्लीका १७ वटा मेट्रो स्टेसनको ढोका पनि बन्द गरिएको छ ।
भारत संसारकै यस्तो मुलुक हो, जहाँ सबभन्दा बढी इन्टरनेट बन्द गरिएको छ। गत वर्ष १३४ चोटि इन्टरनेट बन्द गरिएको थियो। यस वर्ष अहिलेसम्म ९३ चोटि बन्द गरिएको छ । इन्टरनेट बन्द गर्ने मुलुकमा भारतपछि पाकिस्तान पर्छ, जहाँ गत वर्ष १२ चोटि इन्टरनेट बन्द गरियो। त्यसपछि सिरिया र टर्की छन् ।
गत साता नागरिकता कानुनविरुद्ध प्रदर्शन सुरू भएपछि उत्तरपूर्वी क्षेत्रका आसाम, मेघालय र त्रिपुरामा इन्टरनेट बन्द गरिएको थियो। पश्चिम बंगाल र उत्तरप्रदेशका केही भागमा पनि इन्टरनेट बन्द गरेर सूचना प्रवाह रोक्न खोजिएको छ ।
उता, कश्मिरका ६ करोड जनता १३५ दिनदेखि इन्टरनेट सेवाबाट वञ्चित छन् । त्यहाँका कतिपय व्यवसायी अत्यावश्यक इमेल हेर्न अर्को राज्यमा जाने गरेका छन् ।
आइतबार राति नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयभित्रै घुसेर प्रहरी धरपकड गरियो। उत्तरप्रदेश अलिगढ मुस्लिम विश्वविद्यालयका विद्यार्थीहरूलाई पनि निर्घात कुटपिट गरियो । सेतोपाटीबाट साभार ।
