समातिएका चिनियाँलाई देश निकाला गर्ने तयारी, चीनबाट चार्टड विमान ल्याइँदै

समातिएका चिनियाँलाई देश निकाला गर्ने तयारी, चीनबाट चार्टड विमान ल्याइँदै

काठमाडौं : नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न १ सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् ।

चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टड जहाज आउँदै छ । चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट र समूह समूहमा पक्राउ गरेको छ ।

चिनियाँ अधिकारीले दिएको सूचीकै आधारमा मनमैजुका चार, बाँसबारीका दुई र बूढानीलकण्ठको एक घरमा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । तर यो अभियान अझै जारी रहने प्रहरी अधिकारीले जनाएका छन् ।

चिनियाँ पक्षले ६ सयजनाको सूची दिएको छ,’, एक उच्च प्रहरी अधिकारीले भने, ‘सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन्, यो अपरेसन जारी रहन्छ ।’

नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले यहाँ फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ । उनीहरूलाई भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने र चिनियाँ अधिकारीलाई बुझाउने गृहमन्त्रालयलको तयारी छ ।

नेपाल सरकारले निष्कासन गरेपछि उनीहरूलाई एकैपटक चीन पुर्याउन उतैबाट चार्टड विमान ल्याइँदै छ । स्वदेशमै लगेर थप अनुसन्धान गर्ने चीनको तयारी छ । ,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.