१० पुस, विराटनगर ।
पुस १ गतेदेखि बढेको चिसोसँगै विराटनगरको जैन भवनमा सुरु भएको जुत्ता चप्पल मेलामा ग्राहकहरुको भिड दिनप्रतिदिन बढ्दै गएको छ । पुसको जाडोकोे प्रवाह नगरी ग्राहकहरु मेलामा पुगिरहेको आयोजकले जनाएको छ । मेलामा विराटनगरबाहेक सुनसरी तथा झापाका विभिन्न स्थानका ग्राहकपनि आउने गरेका छन् ।
नेपाली जुत्ता घरको आयोजनामा सुरु भएको जुत्ता चप्पल मेलामा बजारमा भन्दा सस्तो र गुणस्तरीय जुत्ता चप्पल पाईने भएपछि दिन प्रतिदिन ग्राहकहरुको घुँइचो बढेको हो । मेलाका हरेक स्टलमा ग्राहकहरुको चाप उत्तिकै देखिन्छ । बिक्रेताहरु जुत्ता चप्पल बेच्न व्यस्त देखिन्छन् भने मेलाबाट निस्किने ग्राहकहरु हँसिलो मुहार लिएर निस्कने गरेका छन् ।
मेलामा बजारमा भन्दा नयाँ मोडलका जुत्ता राखिएको र टिकाउ जुत्ता चप्पलका कारण ग्राहकहरुको भीँड बढ्दै गएको बिएफ डियर हिल सुजका मेनेजर गोविन्दप्रसाद घिमिरेले बताए । उनले अघिल्लो वर्षको मेलामा किनेको जुत्ता लगाएरै आउने र टिकाउ भएको प्रतिक्रिया दिने गरेको सुनाए । अन्य ब्राण्डका विक्रेताहरु पनि मेलामा ग्राहकको उपस्थितीबाट एकदमै हर्षित रहेको बताउँछन् ।
मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएको छ । मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ताहरु राखिएको छ भने जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । ५० हजार जोर जुत्ता कारोबार गर्ने लक्ष्य राखिएको सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने आयोजकको अपेक्षा छ । मेला सुरु भएयता हरेक दिन ७ लाख बढीको कारोवार हुँदै आएको आयोजकले जनाएको छ ।