विप्लवका ३ कार्यकर्ता हतियारसहित पक्राउ

विप्लवका ३ कार्यकर्ता हतियारसहित पक्राउ

१३ पुस, विराटनगर ।
प्रतिबन्धित नेकपा विप्लव समूहका ३ जना जिल्लास्तरीय कार्यकर्र्ता मोरङको बेलबारीबाट हतियारसहित पक्राउ परेका छन् । विप्लव समूहका कार्यकर्ताहरू हातहतियार सहित चन्दा असुल गरी हिँडेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका वेलबारी नगरपालिका–५ कसेनी, रामपुरबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ जिल्ला इन्चार्ज सुन्दरहरैचा नगरपालिका–१० का ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, मोरङ जिल्ला सदस्य विराटनगर–८ का ३० वर्षीय क्षितीज पौडेल र ५६ वर्षीय चिरन्जिवी धिताल रहेका छन् । पक्राउ पर्ने चौलागाईको साथबाट मोवाइल–५ थान, एनसेलको सिमकार्ड–५ थान र एनटीसीको सिमकार्ड ७ थान बरामद भएको छ भने पौडेलको साथबाट मोवाईल–३ थान, एनसेलको सिमकार्ड–३ थान बरामद भएको छ । त्यस्तै धितालको साथबाट छैटौं पार्टी पुर्नगठन दिवस लेखिएको पर्चा–१९ सय थान र सामाजिक फाँसिवादको प्रतिरोध गरौं लेखिएको पम्प्लेट–२ सय थान बरामद् भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार बेलबारी नगरपालिका –५ रामपुर स्थित सुनसरी–मोरङ आयोजनाको नहर छेउ केराघारीमा लुकाई राखेको कटुवा पेस्तोल १ थान र ब्रिटिस ३०३ लेखिएको गोली २ थान बरामद भएको छ । प्रहरीका अनुसार जिल्ला इन्चार्ज चौलागाइँ भदौ २१ गते इटहरी उप–महानगरपालिका –९ स्थित गोदावरी स्कुलको कम्पाउण्डमा बम बिष्फोट घटनामा र भदौ २३ गते विर्तामोङ नगरपालिका–२, चारपाने चोक स्थित सहारा नेपाल सहकारी संस्थामा बम बिष्फोटमा संम्लग्न रहेको प्रहरीले दावी गरेको छ । हतियार तथा अन्य सामाग्रीहरू सहित नियन्त्रणमा लिईएका उनीहरुमाथि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.