१६ पुस, काठमाडौँ ।
भारतको कश्मीर क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ । यस्तै बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।
बुधबार दिनभर देशभर आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । यस्तै पहाड र तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आउँदो शुक्रबारसम्मै मौसम बदली हुने जनाइएको छ ।