१७ पुस, सुनसरी।
स्पिनर दीपेश कंडेलको घातक बलिङसँगै मनमोहन स्मृति एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ । सुनसरीको इनरुवा क्रिकेट मैदानमा विहीबार प्रदेश ५ लाई ६८ रनले पराजित गर्दै विजयी सुखद सुरुवात गरेको हो ।
१ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश पाँच दीपेशको घातक बलिङ सामु १८ ओभरमा ५२ रनमा अल आउट भयो । प्रदेश ५ का लागि ओपनर विराट भण्डारीले ३४ बलमा ४ चौका सहित २८ र यू१६ का कप्तान विशाल विक्रम केसीले १२ रन जोड्न बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
प्रदेश ५ का चार ब्याट्सम्यान शून्यमा पेभिलिएन फर्केका थिए । सौरव खनाल २, कप्तान कृष्ण कार्की शून्य, अनिल खरेल ३ र सुसान्त थापा २ रनमा आउट भए । प्रदेश एकका दीपेश कंडेलले ७ ओभरमा १ मेडन सहित २० रन खर्चेर ६ विकेट लिदै म्यान अफ द म्याच चुनिए । मुकुन्द यादवले २ ओभरमा २ मेडन सहित कुनै रन नदिई २ विकेट लिए । मनोज तामाङले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ३१।२ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो । प्रदेश एकको लागि फिर्दोस अन्सारीले सर्वाधिक २३ रनको योगदान दिए । २८ औं ओभरको चौथो बलमा विक्रम भुषालले कृष्ण कार्कीबाट क्याच आउट गराउनु अघि फिर्दोसले ४९ बलमा २ चौका प्रहार गरे । कप्तान पुष्प थापाले १७ बलमा २ चौका र १ छक्का सहित २२ रनको योगदान दिए । दीपेश कंडेलले २४ बलमा ३ चौका र १ छक्का सहित २२ रन जोडे । ओपनर अंकित सुवेदीले खाता खोल्न नसक्दा सुजन थपलिया ४ र लभ कामत ११ रनमा बोल्ड आउट भए ।
प्रदेश ५ का स्पिनर बिक्रम भुषालले ८।२ ओभरमा २ मेडन सहित २४ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । दुर्गेश गुप्ताले २, कृष्ण कार्की, जितेन्द्र सैनी र अनिल खरेलले १–१ विकेट लिए । प्रदेश १ ले शनिबार प्रदेश ३ को सामना गर्नेछ ।