२१ पुस, काठमाडौँ ।
१० युनिटसम्म विद्युत् खपत् गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै लिने गरी शुल्क निर्धारण गर्ने नेपाल विद्युत् प्राधिकरणले तयारी गरेको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकमा यसबारे छलफल भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब ७ लाख रहेको बताउँदै प्राधिकरणको आम्दानी बढाइरहेकाले यसमा घाटा नपर्ने बताए ।सय मेगावाटसम्म विद्युत् खपत गर्ने ग्राहकका लागि पनि शुल्क घटाउने तयारी रहेको उनले बताए । विद्युत् खपत बढाउने हिसाबले शुल्क परिमार्जन गर्न लागिएको मन्त्री पुनको भनाइ छ ।
‘यी ग्राहकलाई सेवा शुल्कबापत ३० रुपैयाँ मात्रै लिएर विद्युत् दिँदा प्राधिकरणलाई मासिक करिब २५ लाख भार पर्छ,’ मन्त्री पुनले भने, ‘प्राधिकरणले निर्माण गरिरहेका आयोजना पूरा भइरहेका छन् । यिनले प्राधिकरणको आम्दानी बढाइरहेकाले घाटा पर्दैन ।’
अहिले लागू भइरहेको विद्युत् महसुल परिमार्जनका लागि पनि छलफल भरहेको उनले जनाए ।