ए डिभिजन लिगः संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीचको खेल जारी

ए डिभिजन लिगः संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीचको खेल जारी

२४ पौष, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको पाँचौं चरणको अन्तिम तथा चौथो दिन आज (बिहीबार) दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।

दिनको पहिलो खेलमा संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच मध्यान्ह १२ बजे तथा आर्मी र विभागीय त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । पहिलो खेल अन्तर्गत संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीचको प्रतिष्पर्धा अहिले जारी छ । साविक उपविजेता संकटालाई लिगमा दाबेदारीता प्रस्तुत गर्न एपीएफविरुद्ध जितको विकल्प छैन ।

लिगको चौथो चरणसम्म संकटाले एक खेलमा मात्रै जित हात पारेको छ । त्यसैले पनि संकटालाई दवाव बढेको छ । संकटाले ४ खेलमा १ जित, १ बराबरी र २ हारसहित ४ अंक जोडेर १०औं स्थानमा छ । यता, लिगको शीर्ष ६ भित्र अटाउने लक्ष्य बनाएको एपीएफलाई पनि जितको बिकल्प छैन । लिगमा ४ खेलबाट एपीएफको पनि ४ अंक नै छ । एपीएफ संकटालाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

बिहीबार रेलिगेसन जोनमा रहेको सरस्वती युथ क्लबलाई पराजित गर्न सके आर्मी लिगको शीर्ष स्थानमा उक्लने अवसर छ । जित निकाल्न सकेको खण्डमा आर्मीले मनाङलाई १ अंकले पछि पार्नेछ । उपाधि दावेदार मनाङ र मछिन्द्रले अन्तिम खेलमा २–२ को बराबरी खेलेपछि आर्मीलाई शीर्षस्थानमा उक्लने मौका पाएको हो ।

लिगमा ४ खेल खेलेका आर्मीको ९ अंक रहेको छ । पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको आर्मीले दोस्रो खेलमा मनाङसँग १–० ले स्तब्ध बन्न पुगेको थियो ।

आर्मीले तेस्रो खेलमा हिमालयन शेर्पा र चौथो खेलमा थ्री स्टारलाई समान २–० गोल अन्तरले हराएको थियो । दोहोरो पहेलो कार्डका कारण थ्री स्टारविरुद्धको खेल गुमाएका दिनेश हेन्जन टिममा फर्कनेछन् ।

सन्तोष तामाङ, नवयुग श्रेष्ठ, सुमन अर्याल, भरत खवास, जर्ज प्रिन्स कार्की, सेसेहाङ आङदेम्वे जस्ता नाम चलेका खेलाडीको साथ आर्मीलाई छ ।सरस्वती भने रेलिगेशन जोनबाट बच्ने दाउमा छ ।

लिगमा ४ खेल खेलेको उसले कुनै अंक जोड्न सकेको छैन । रेलिगेशनबाट बच्न सरस्वतीलाई जितको विकल्प छैन । सरस्वती एनआरटीसँग ४–० ले, जावलाखेलसँग १–० ले, पुलिससँग २–० ले तथा एपीएफसँग २–१ ले पराजित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.