मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, अत्यन्त गन्हाउने र गति लिनखोजे पल्टिने समस्या

मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, अत्यन्त गन्हाउने र गति लिनखोजे पल्टिने समस्या

२४ पौष, डोटी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् ।

सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसकेको बताइएको छ ।

डोटी जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए ।

उनले मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएको जानकारी दिए ।

ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरुको दाबी छ ।

निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ । कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको दाबी चालकहरुको छ ।

एम्बुलेन्स दिए पनि सबै सुविधा र सामाग्री भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीको गुनासो छ । मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गरे ।

चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा इसिजी सेवामात्र रहेको पनि चालक बताउँछन् । मन्त्रालयले कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा १६ एम्बुलेन्स वितरण गरेको थियो । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.