२४ पुस, विराटनगर ।
नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रा.लि.ले सात वटै प्रदेशहरुका महिला उद्यमीहरुलाई लक्षित गरी विभिन्न तालिम सञ्चालन गर्ने भएको छ । यसअन्तर्गत नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यका रुपमा रहेका मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा मोरङ र सुनसरी जिल्लाका महिला उद्यमीहरु समेट्ने गरी विराटनगरमा तालिम सञ्चालन गर्ने भएका छन् ।
उद्योग संगठन मोरंगमा पत्रकार सम्मेलनको आयोजना गरी तालिम संचालन गर्ने सम्बन्धी जानकारी गराईएको हो । पुस २८ गते सोमबार मोरंग व्यापार संघको सभाकक्षमा एक दिवसीय ‘महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम’ संचालन गर्न लागिएको मोरङ व्यापार संघको महिला उद्यम समितीकी संयोजक मल्लिका रिजालले जानकारी दिइन् । तालिम आयोजना गर्न न्यू विजनेस एज प्रा.लि.लाई मोरङ व्यापार संघको र उद्योग संगठन मोरङको महिला उद्यमी समिति सदस्यहरुले यस क्षेत्रका सम्पूर्ण महिला उद्यमीहरुलाई सहभागी गराउन आवश्यक समन्वय गरिरहेको उनले बताइन् ।
त्यस्तै उद्योग संगठन मोरङको महिला उद्यम समिती संयोजक सन्तोष जैनले व्यवसायिक क्षेत्रमा महिलाहरुको पनि सक्रिय सहभागिता नितान्त आवश्यक रहेकोले जानकारीमूलक तालिम दिलाई महिला उद्यमीहरुलाई लाभान्वित गर्ने र व्यवसायकालागि प्रोत्साहन गर्ने कार्यमा प्रयासरत रहँदै आएको बताइन् ।
उक्त तालिम अन्तरगत महिला उद्यमीहरुलाई वित्तीय साक्षरता लगायत व्यवसाय संचालन गर्ने प्रारम्भिक प्रक्रियाहरु, संचालन गर्दा देखा पर्ने व्यवसायिक जटिलताहरु, तीनका निराकरणका उपायहरु, व्यवसायसँग सम्बन्धित विभिन्न निकायहरुका विभिन्न व्यवसायिक जानकारीहरु सम्बन्धित श्रोत व्यक्तीहरुबाट उपलब्ध गराइने जनाईएको छ । उक्त तालिम यस वर्ष हुने ‘वुमन इन्टरप्रेनर अवार्ड २०२०’को पनि अङ्ग हुने भएकाले यसलाई विशेष महत्वका साथ आयोजना गर्न लागिएको रिजालले बताइन् ।