२४ पुस, काठामाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको बताएका छन् । नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि अन्य समस्या समाधानका लागि आफुसहितको टोली अनुगमनमा गई तत्काल निर्णय गर्ने बताएका हुन् । ‘नेपालमा सेजको पुर्वाधारको अवस्था’को विषयमा बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले आफु सहितको टिमले अनुगमन गरी उद्योगीहरु सेजमा आकर्षित हुन नसक्नुको कारण सम्बन्धमा अध्ययन गरी तत्काल समस्या समाधान गरिने बताएका हुन् ।
कार्यक्रममा अर्थविद् डा. शंकर शर्माले भैरहवा सेजमा विद्युत आपूर्ति लगायत विभिन्न पूर्वाधारको समस्या रहेकाले उद्योगीहरु आकर्षित हुन नसकेको बताए । उनले विद्युत प्राधिकरणले ५ मेगावाट विद्युत तत्काल उपलब्ध गराउने भएपनि सेज भित्र कै व्यवस्थापनका कारण विद्युतको समस्या देखिएको बताए । जसले गर्दा उद्योगीहरु आकर्षित हुन नसकेको उनले बताए ।
नेपाल विद्युत प्राधिकरणका उप महानिर्देशक हरराज न्यौपानेले भैरहवा सेजको विद्युत आपूर्तिमा ५ मेगावाट सम्म अहिलेकै सिस्टमबाट विद्युत आपुर्ति गर्न सक्ने भएकाले विद्युतको समस्या आफुले बुझ्न नसकेको उनले बताए । उनले बुटवलदेखि सेज सम्म पुग्ने ३३ केभि लाइनलाई छ महिना भित्रमा २९ केभि लाइन पु¥याइसक्ने प्रतिवद्धता जनाइसकेको बताउँदै सेज भित्रको वितरण प्रणाली प्राधिकरणको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पारे ।
निर्यात गरिने वस्तु उत्पादनका लागि उद्योग स्थापना गर्न विशेष आर्थिक क्षेत्र (सेज)को अवधारणा आएको हो । जसमा सरकारले कर तथा अन्य पुर्वाधारमा विशेष सुविधा दिने छ । सेजमा स्थापना भएको कम्पनीले पहिलो ५ वर्षसम्म शत प्रतिशत आयकर छुट पाउने छ र त्यस पछि ५० छुट छुट पाउने छ । त्यस्तै उद्योग सञ्चालनमा आएको १ वर्ष सम्म उत्पादन भएको वस्तु वा सेवा अन्तरिक बजारमा विक्री गर्न पाउने छ भने १ वर्षपछि ६० प्रतिशत वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ । तर सेजमा पुर्वाधार विकास हुन नसक्दा अझै लक्ष्य अनुसारका उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन् ।