२५ पौष, काठमाडौं । भारतले रिफाइन्ड पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि त्यसका असरका बारेमा नेपाल सरकारले अध्ययन सुरू गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले यसबारेमा सरोकारवालासँग छलफल अघि बढाएको हो । पछिल्लो समय नेपालको सबभन्दा धेरै निर्यात हुने वस्तुको निर्यात नै ठप्प हुने अवस्था आएपछि त्यसका विभिन्न प्रभावका बारेमा मन्त्रालयले छलफल सुरू गरेको हो ।
पहिलो चरणमा मन्त्रालयका सचिवले बिहीबार उद्योगी तथा सरोकारवालासँग छलफल गरेका छन् । सचिव बैकुण्ठ अर्यालले सबैको धारणा र बुझाइमा एकरूपता ल्याउन प्रारम्भिक चरणको छलफल गरिएको जानकारी दिए ।
भारतले प्रशोधित पाम आयलको आयात गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । यसको कानुनी र व्यवहरिक पाटोमा समेत अस्पष्ट भएको अवस्थामा स्पष्ट हुनका लागि मन्त्रालयले छलफल अघि बढाएको छ । यसबारेमा कूटनीतिक पहल अघि बढाउने सरकारको तयारी छ ।
