कृष्णबहादुर गिरी विरुद्ध महिला अधिकारकर्मीहरुले दिए धर्ना

कृष्णबहादुर गिरी विरुद्ध महिला अधिकारकर्मीहरुले दिए धर्ना

२ माघ विराटनगर ।
विराटनगरस्थित उच्च अदालत बाहिर ‘सिद्धबाबा’ कृष्णदास भनिने कृष्णबहादुर गिरी विरुद्ध महिला अधिकारकर्मीहरुले धर्ना दिएका छन्।

अनुयायी महिलाले जबर्जस्ती करणी मुद्दा चलाएका गिरीलाई थुनामा राख्‍नुपर्ने आदेशसहित बिहीबार अदालत अगाडि पीडित पक्षधर, अधिकारकर्मी, महिला अगुवा लगायतले धर्ना दिएका हुन्।

धर्नामा उत्रिएका महिला अधिकारकर्मीहरुले बलात्कार आरोपी गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग गरेका छन्। जबर्जस्ती करणी आरोप लागेका गिरीलाई यसअघि सुनसरीको जिल्ला अदालतले पुस १४ गते तीन लाख रुपैया धरौटीमा छाड्न आदेश दिएको थियो।

यद्यपि, जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो।

अर्कोतर्फ गिरीले पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका थिए।

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले एकै पटक सुनुवाइका लागि मुद्दा लगाउमा राख्न आदेश दिएका थिए।

अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले मुद्दाको सुनुवाई हुने वा नहुने भन्ने यकिन नभएको बताएका छन्। विराटनगरमा पुगेको मुद्दाको सुनुवाइका लागि पेसी बिहीबारलाई तोकिएको थियो।

सो क्रममा पीडित पक्षधरले धर्ना दिएका हुन्।महिला अनुयायीले सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको किटानी जाहेरी सिद्धबाबाविरुद्ध दिएपछि सुनसरी प्रहरीले उनलाई पक्राउ गरेर जवरजस्ती करणी मुद्दामा मंसीर १६ गतेबाट अनुसन्धान थालेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.