३ माघ, विराटनगर । अब विराटनगरका यात्रुहरुले सिधा हवाई सेवा मार्फत नै पोखरा जान पाउने भएका छन् । सडक मार्गको पट्यारलाग्दो घटौको यात्रा तथा हवाई मार्गबाट पनि पोखराका लागि काठमाडौँ पुग्नु नै पर्ने बाध्यता अब अन्त्य हुने भएको छ । यो अवस्थालाई अन्त्य गर्न बुद्ध एयरले प्रदेश १ को राजधानी विराटनगरबाट गण्डकी प्रदेशको राजधानी पोखरा सिधा उडानको तयारी गरेको छ ।
बुद्ध एयरले क्षेत्रीय उडान बिस्तारका रुपमा ३ फेब्रुअरी अर्थात माघ २० गतेदेखि बिराटनगर–पोखरा सिधा उडानको तयारी गरेको हो । बुद्ध एयरका अनुसार अब सातको तीन दिन विराटनगर–पोखरा सिधा उडान हुने भएको छ ।
बुद्ध एयर विराटनगरका प्रबन्धक भक्तबहादुर बस्नेतले बुद्ध एयरले बीच १९०० डी को १८ सिटे जहाजले सोमबार, बुधबार र शुक्रबार सिधा उडान गर्ने जानकारी दिए । उनले नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगर– पोखरा उडान गर्न लागिएको र अहिले १८ सिटे जहाजले उडान भरेपनि यात्रु बढ्दै गए त्यो भन्दा ठूला जहाजले उडान भर्ने बताए ।
विराटनगर– पोखरा उडान समय ६० मिनेटको हुने जनाइएको छ। दिउँसो १ः १० बजे विराटनगरबाट उड्ने जहाज २ः १० मा पोखरामा अवतरण गर्नेछ । उनका अनुसार हाललाई विराटनगर–पोखरा भाडादर ६ हजार २ सय रुपैँया कायम गरिएको छ । परीक्षण अवधि भएकोले सुरुमा ६ हजार २ सय रुपैँया कायम गरिएपनि पछि घटबढ हुने बुद्ध एयरले जनाएको छ ।
यसअघि विराटनगर र भद्रपुरबाट पोखरा उडानका लागि पहल गर्दै आएको प्रदेश १ सरकारले बुद्ध एयरलाई उडान भर्न आग्रह गरेको थियो ।
भ्रमण वर्षको प्रारम्भमै सुरु हुने क्षेत्रीय उडानले आम यात्रुसँगै पर्यटकलाई समेत सुविधा पुग्ने विश्वास लिईएको छ । पर्यटकीय नगरीमा पोखरामा रहेका पूर्व घुम्ने योजना बनाएका तथा यस क्षेत्रबाट पोखरातर्फ घुम्ने योजना बनाएका आन्तरिक तथा बाह्य पर्यटकका लागि विराटनगर पोखरा तथा पोखरा विराटनगर सिधा उडानले सहज हुने पर्यटन ब्यवसायीहरुले विश्वास लिएका छन् ।