१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो । उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ ।
पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका ९ का मोहम्मद खलिद, डुमरिया(४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन् । उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ । एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो ।
एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ। एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ । सोही ऐनअनुसार उनीहरूमाथि कारबाही हुने प्रहरीले जनाएको छ ।