१२ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट हुने सम्भावित जोखिम र यसको रोकथामका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।
छिमेकी राष्ट्र चीनबाट फैलिएको यो भाइरस पछिल्लो समय नेपालमा समेत देखिन थालेपछि प्रधानमन्त्री ओलीले यसबारे चासो दिएका हुन् । ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुको उपचारको अवस्थाका बारेमा समेत जानकारी लिएका थिए ।
गत डिसेम्बर महिनादेखि चीनमा देखिएको कोरोना नामक नयाँ प्रकृतिको भाइरसको संक्रमणबाट चीनमा मात्रै अहिलेसम्म ५६ जनाको मृत्यु भइसकेको छ भने चीनबाट फर्किएका एक नेपालीमा समेत यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवस्था गरेको छ ।