१९ माघ, काठमाडौँ ।
भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने (नाम परिवर्तन गरीएकी) ६ वर्षीया बालिका गृष्मा राउत को अपहरणमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अपहरण भएको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
थापाले फिरौती वापतको १६ लाख रकम ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए । आइतबार दिउँसो मोटरसाइकलमा राखेर राउतलाई लगिएको सूचना प्राप्त भएलगत्तै खोजीमा प्रहरी परिचालित भएको थियो ।
उनलाई घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखिएको प्रहरीले जनाएको छ । तर, बालिका रोइकराइ गर्न थालेपछि घुम्न आउने मानिसले आवाज सुन्ने डरले थापा बालिकालाई छाडेर भागेको बताइएको छ । जंगलमा रोएको देखेर घुम्न आउने मानिसले सोधपुछ गर्दा उनले स्कुलको नाम बताएपछि सर्वसाधारणले उनलाई स्कुलसम्म छाडिदिएका थिए ।