२० माघ, विराटनगर ।
अर्नाको राजधानी र चराको स्वर्ग भनेर चिनिने कोशी टप्पुमा शनिबारदेखि पहिलो पटक पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहबीच उद्घाटन गरे ।
मुख्यमन्त्री राईले कोशी गाउँपालिकाको आयोजनामा कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय अगाडि आयोजना गरिएको २९ गतेसम्म चल्ने १० दिने पर्यटन महोत्सव उद्घाटन गरेका हुन्। मुख्यमन्त्री राई, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत लगायतले हात्ती चढेर आरक्षको भ्रमण पनि गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले नेपाल विश्वमा प्राकृतिक सम्पदाले धनी भएपनि कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता कैयौं पर्यटकीय स्थलहरुले स्रोत साधन तथा प्रचारप्रसार अभावमा अपेक्षा गरिएअनुसार लाभ लिन नसकेको मुख्यमन्त्री राईको भनाइ छ ।
नेपाल भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकारले पर्यटकीय स्थलहरुको पहिचान गर्दै स्रोत साधन,पूर्वाधार निर्माण गर्न तथा प्रचारप्रसार गर्न लागिपरेको उनले बताए ।
प्रदेशका पर्यटन मन्त्री जगदिशप्रसाद कुसियैतले विश्वमै नाम चलेको कोशी टप्पुको पर्यटन प्रवर्धनमा सबैको सहयोग हुनु पर्ने बताए । उनले कोशी टप्पुमा गैंडा ल्याउनु पर्ने माग गर्दै चितवनमा कोशीबाट पठाइएका हात्ती बापत गैंडा चाहिने बताए । प्रदेश सरकारको भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने योजनालाई महोत्सवले सहयोग गर्ने गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले बताए ।
महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारीसम्मको यात्रा गराउने व्यवस्था छ। आन्तरिक, ५० हजार भारतीय, तेस्रो मुलुकबाट समेत जोडिने गरी एक लाख पर्यटकहरू भित्र्याउने उद्देश्य छ। महोत्सवमा कोशीटप्पु वन्यजन्तु आरक्षको गतिविधि तथा परिचय र चरा महोत्सव २०२० सम्बन्धी कार्यक्रम हुने छन्।
स्रोतत साधन सङ्कलन, विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, कोशीटप्पुको विषयमा जानकारीमूलक ब्रोसर, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरूको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर गरिने छ।