२० माघ, काठमाडौं । चीनको हुबेइ प्रान्तका विभिन्न सहरमा रहेका १ सय ८० जना नेपालीले स्वदेश फर्कनकालागि आवेदन दिएका छन् । उनीहरुले आइतबार आवेदन दिएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले आवेदन दिनेहरुको नाम सार्वजनिक गर्दै आफ्नो नाम रहे, नरहेको यकीन गर्न भनेको छ । सूचीमा नाम नभएमा आफ्नो व्यक्तिगत विवरणसहित [email protected] मा इमेल गर्न दूतावासले आग्रह गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्ने उपयुक्त स्थान खोज्ने गृहकार्य भइरहेको सरकारले जनाएको छ । डाक्टरको निगरानी सहितको विशेष ठाउँ चाहिने भएकाले त्यस्तो ठाउँ खोज्ने गृहकार्य भइरहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
कोरोना प्रभावित क्षेत्रबाट ल्याएका नेपालीलाई घर पठाउनुअघि दुई हप्तासम्म निगरानीमा राखेर भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नुपर्ने भएकोले त्यस्ता ठाउँ बनाउने गृहकार्य भइरहेको उनले बताए ।
कीर्तिपुर, स्टाफ कलेज जावलाखेल र भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्र, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अस्पताल लगायतका ठाउँबारेमा छलफल भैरहेको मन्त्रालयले जनाएको छ । उपचारको लागि ५० शैयासम्मको आईसोलेसन वार्ड बनाउने जिम्मा भने नेपाली सेनालाई दिने तयारी छ ।
मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन थप गृहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई थप गृहकार्य गर्न निर्देशन दिएको हो । सरकारले कोरोना भाइरसको सँक्रमणको जोखिम रहेका क्षेत्रमा रहेका नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ ।