समानन्द हत्या प्रकरण : वडाध्यक्ष कारागार चलान

समानन्द हत्या प्रकरण : वडाध्यक्ष कारागार चलान

२५ माघ, विराटनगर ।
विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादव हत्या प्रकरणमा मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । वडाध्यक्ष यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

विवाहको बारेमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो ।कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो ।

सो घटनामा विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष बलदेव यादव, उनका छोरा रवीन, विराटनगर– १८ का अध्यक्ष सञ्जय शाह, विन्देश्वर यादव, शम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादव, बलदेवका भतिज दीपेश यादव र वडाध्यक्ष प्रदीपचन्द यादवविरुद्ध किटानी जाहेरी परेको थियो ।

हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित नौं जना फरार थिए । तर १० असोजमा हाजिर भएका २७ वर्षीय दीपेश यादवलाई जिल्ला अदालत मोरङले कारागार चलानको आदेश दिएको थियो । गत असारमा फरार अध्यक्ष यादव शुक्रबार अदालतमा हाजिर भएका थिए । दुई अध्यक्षसहित सातजना अझै फरार छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.