२५ माघ, काठमाडौँ ।
नेपाली खेलाडी कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान रचेका छन् । शनिबार आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गरेका कुशल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका हुन् ।
उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै कीर्तिमान बनाएका हुन् । अमेरिकाविरुद्ध कुशलले ४९ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए । कुशलले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । उनी अमेरिकाविरुद्ध रोहितकै स्थानमा पहिलो रोजाइमा पर्दै खेलेका थिए ।
यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए ।
रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए । जुन ओडीआई क्रिकेटमा सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका थिए । उक्त अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेका थिए । यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए ।
कुशलले सन् २०१९ मा सिंगापुरमा भएको नेपाल, सिंगापुर र जिम्मबाबेबीचको त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी विश्वकप लिग २ को टोलीमा अभ्यासमा बोलाएका थिए। बन्द प्रशिक्षणमा राम्रो गरेका कुशल अमेरिकासँगको महत्त्वपूर्ण खेलमा टोलीमा अटाएका हुन् ।