मागेको पोशाकले सिकेको कराँते जसले स्वर्णपदक चुम्यो

२६ माघ ७६, सोमबार

२७ माघ, काठमाडौँ ।

साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, “स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराते सिक्न शुरु ग¥यौँ ।”

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को स्वर्ण पदक चुम्दा नवीनले तिनै सङ्घर्षपूर्ण दिनहरु सम्झे । काठमाडौँको बालाजु कराते–डो प्रतिष्ठान र गुरु धु्रवविक्रम मल्लको नाम मनमनै लिए । बागलुङ, तमानखोला गाउँपालिका–२ बाट काठमाडौँ झरेकै वर्षदेखि शुरु भएको थियो, उनको कराँते यात्रा । रसाइली परिवारभित्र २४ वर्षीय नवीनले मात्र करातेलाई लक्ष्य बनाएका छैनन् ।

Advertisement

२६ वर्षीय दाइ राजकुमारले पनि आफ्ना ऊर्जाशील १२ वर्ष करातेलाई दिइसकेका छन् । “बुबाआमासहित काठमाडौँ गएदेखि नै कराते खेल्न शुरु ग¥यौँ”, उनले भने, “दुई भाइले सँगै सिक्यौँ, अहिले खेल्दैछौँ ।” तेह्रौँ सागमा पनि दुवैले भाग लिए ।

नवीनले स्वर्ण र राजकुमारले कास्य पदक चुमे । “सागमा स्वर्ण जित्नु नै मेरो अहिलेसम्मकै ठूलो उपलब्धि हो”, नवीनले भने, “जुन मिहिनेत र समर्पणका साथ करातेमा लागेँ त्यसको प्रतिफल पाएँजस्तो लाग्छ ।” करातेमा लाग्दाका कठिन र चुनौतीपूर्ण दिनलाई नै रसाइली दाजुभाइले सफलताको जग मान्छन् । बागलुङको सदूर गाउँबाट काठमाडौँ छिर्दा उमेर सानै थियो । कुनै ठूलो सपना थिएन । खेलमा भविष्य देख्नु त झन् टाढैको कुरा । तत्कालको उद्देश्य पढ्नु नै थियो । विद्यालय भर्ना भए । खुरुखुरु पढाइमा जान थाले । सँगैका साथीहरु बालाजु कराते–डो प्रतिष्ठानमा कराते सिक्थे । उनीहरु खेल हेर्न जान्थे । त्यही प्रतिष्ठान हो जहाँ रसाइली दाजुभाइले साथीको पोसाक लगाएर कराते सिकेका थिए ।

करातेमा लागेपछि उनीहरु पछाडि फर्कनु परेन । एकपछि अर्को सफलताले पछ्याइरह्यो । खेल प्रतिभाको कदर गर्दै बालाजुको ज्ञानमन्दिर माविले राजकुमारलाई कक्षा ९ र १० छात्रवृत्तिमा पढायो । गोल्डेन गेट कलेजले कक्षा ११–१२ मा ५० प्रतिशत छुट दियो । नवीनले भने एसएलसी ब्राइट हेभन स्कुलबाट गरे । दुवै भाइले पढाइसँगै खेल जीवनलाई अघि बढाए । “अहिले पनि बिहान २ र बेलुकी २ घण्टा प्रशिक्षणमै हुन्छौँ”, राजकुमारले भने, “करातेमा हामीलाई यहाँसम्म ल्याउने बालाजु कराते–डो प्रतिष्ठान र गुरु धु्रवविक्रम मल्ल हुनुहुन्छ, उनी नेपाली करातेको ‘गडफादर’ नै हो ।” एक दशकभन्दा बढीको खेल जीवनमा रसाइली दाजुभाइले कैयन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

नेपालका लागि खेल्न दर्जनभन्दा बढी देश पुगेका छन् । पदकमा तुलनात्मक रुपमा नवीन अगाडि छन् । उनले सन् २०१४, २०१६ मा भारत र २०१७ मा श्रीलङ्कामा भएको साउथ एशियन च्याम्पियनशिपमा लगातार स्वर्ण जितेर ह्याट्रिक गरेका थिए । राजकुमारले गत वर्ष बङ्गलादेशमा भएको सोही खेलमा रजत पदक हात पारेका थिए । उनले सन् २०१८ मा भएको कोरिया ओपन कराते च्याम्पियनशिपमा स्वर्ण जितेका थिए । सन् २०१० देखि नै व्यावसायिक रुपमा कराते खेल्न थालेको राजकुमारको भनाइ छ । “सन् २०१३ मा राष्ट्रिय खेलकूदमा भाग लिएँ, खेल्नकै लागि भारत, मलेसिया, कोरिया, जापान, थाइल्यान्डलगायत देश पुगेको छु”, राजकुमारले भने ।

उनले सातौँमा कास्य र यही वर्ष भएको आठौँ राष्ट्रिय खेलकूदमा रजत पदक जितेका थिए । नवीनले भने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका थिए । नवीन यही वर्ष जापानमा हुने ओलम्पिकमा समेत नेपालका तर्फबाट भाग लिन प्रयासरत् छन् । ओलम्पिक छनोटका वल्र्ड सिरिज, प्रिमियर लिग, एशियाली खेलकूद र एशियन कराते च्याम्पियनशिप खेल्नुपर्ने मापदण्ड छ । “ओलम्पिकको लक्ष्य लिएर केही सिरिज र लिग खेल्दैछु, विश्वभरका एक सय खेलाडीको ‘¥याङ्किङ्’मा मेरो नाम ९९ मा छ, मापदण्ड पूरा गरेर अन्तिम ३२ मा परेँ भने ओलम्पिक खेल्न पाउँछु”, नवीनले भन्नुभयो । आउँदो ओलम्पिकमा पहिलोपटक कराते समावेश हुँदैछ । ओलम्पिक खेल्न पाउनु नै नवीनका लागि जीवनकै ठूलो सफलता हुनेछ । “खेलले इज्जत दिएको छ, देशको गौरवका लागि खेल्न पाएका छौँ”, रसाइली दाजुभाइ भन्छन्, “राज्यले पनि खेल क्षेत्र र खेलाडीलाई हेरोस् ।”

राजकुमारले अहिलेसम्म परिवारको सहयोगमा खेलमा लागे पनि अब परिवारलाई सहयोग गर्ने बेला आएको बताए । “हामीमा पनि परिवारको जिम्मेवारी थपिँदैछ, खेलाडीलाई आर्थिक सहायता, रोजगारी जस्ता कार्यक्रम सरकारले ल्याउनुपर्छ”, उनले भने । अझै दश वर्ष सक्रिय रुपमा करातेमा बिताउने योजना रसाइली दाजुभाइको छ । तेह्रौँ सागमा पदक जितेपछि गृहजिल्लावासीले उनीहरुलाई सम्झे । जिल्ला र देशकै गौरव बढाएका खुशी साटासाट गरे । बागलुङ नगरपालिका, नेपाल कराते सङ्घ बागलुङ, मालिका सेवा समाज बागलुङलगायत थुप्रै सङ्घसंस्थाले नगदसहित सम्मानित गरे । एकाघरका दाजुभाइले खेलमा देखाएको समर्पण र पाएको सफलता खेलाडी एवं खेलप्रेमीमाझ प्रेरणा बनेका छन् । रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top