चैत १ गतेदेखि दुर्लभ एक सिङ्गे गैँडाको गणना शुरु

चैत १ गतेदेखि दुर्लभ एक सिङ्गे गैँडाको गणना शुरु

१४ फागुन, चितवन ।
दुर्लभ एक सिङ्गे गैँडाको गणना आउँदो चैत १ गतेदेखि सुरु हुने भएको छ।

चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु हुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ।

फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालीम दिएर गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना हुनेछ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिए । नेपालका चारवटा निकुञ्जमा गैँडा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्ष रुपमा गणना गरिँदै छ । २० दिनमा गणना गरिसक्ने योजना छ ।

गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो । श्रेष्ठका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदै छ । शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । वनमन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने विभागको तयारी रहेको छ ।

विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । उनका अनुसार गैँडा गणनाका लागि विभागले एक करोड १० लाख ३५ हजार रकम बिनियोजन गरेको छ ।

बाढीले गैँडा बगाएपछि गएको वर्ष नै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट विनियोजन गरेको थियो ।

हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ । यस अघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । त्यतिबेला ६४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.