२० फागुन, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । खतिवडाको राजीनामापत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको र राजिनामा स्वीकृत भइसकेको छ ।
उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए । आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन् ।
राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् । दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल आज सकिएको छ ।
संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन्। सोही व्यवस्थाअनुसार खतिवडा मन्त्री हुन लागेका हुन् ।