२० फागुन, काठमाडौँ ।
सञ्चार माध्यमहरुमा श्रम स्वीकृति तत्कालका लागि बन्द गरिएको समाचार सार्वजनिक भइरहेका बेला सरकारले भने कुनै निर्णय नभएको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको बताए ।
विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९)को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति बन्द गरेको समाचार सार्वजनिक भइरहेको बेला श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय नभएको बताएका हुन् । ‘‘स्वीकृति रोकिएको छैन् । अहिलेको विषम परिस्थितीमा कुनै श्रमिकले दुःख नपाउन । बाटैबाट फर्किन नपरोस । ट्रन्जिट प्वाइन्टमा दुःख नपाउन भन्नका लागि गृह र स्वास्थ्यमन्त्रालयसँग निरन्तर छलफल भइरहको छ । चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ । औपचारिक कुनै निर्णय भएको छैन्’, उनले भने, ‘२, ३ वटा विकल्पमा यसलाई रि सेड्युल गर्ने हो की भन्ने विषयमा छलफल चलेको छ । मान्छेले दुःख नपाउने वातावरण कसरी सिर्जना गर्ने त्यसका लागि ब्यापक छलफल चलिरहेको छ ।’’
आइतबारको मन्त्रिपरिषद् बैठकले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको अध्ययन अनुमति पत्र वितरण भने बन्द गरेको छ । नेपाल भ्रमण वर्ष २०२०, सगरमाथा सम्बाद लगायतका कार्यक्रमहरु पनि सरकारले तत्काललाई नगर्ने निर्णय गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका अधिकांश मुलुकमा फैलिएको छ । यद्यपी नेपालमा भने कोरोनाको संक्रमण देखिएको छैन् ।