२२ फागुन, विराटनगर ।
विराटनगरमा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर हरेक वर्ष हुदै आएको ‘इनोभेटिभ लेडि रोड रन २०२०’मा यस वर्ष कोरोनाको सचेतना गरिने भएको छ । लियो क्बल अफ विराटनगर इनोभेटिभ र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार लेडि रोड रन प्रतियोगिता हुने भएको हो ।
अस्पतालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको इनोभेटिभ लेडि रोड रन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको जानकारी गराएको छ । प्रतियोगितामा २ सय ५० भन्दा बढी महिलाहरूले भाग लिने कार्यक्रम संयोजक अंकिता कट्टेलले जानकारी दिइन् । दौड प्रतियोगिता सकिएपछि सचेतना मुलक कार्यक्रम हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार रुपैयाँका साथै १० लाख रुपैँयाको जीवन विमा प्राप्त गर्नेछ भने अन्य बिभिन्न पुरस्कारहरु प्रदान गरिने छ । यस्तै द्धितीय हुनेले ३ हजार रुपैयाँ र २ लाख ५० हजारको विमा हुनेछ । तृतीय हुनेले २ हजार ५ सय रुपैयाँ रहेको छ भने अन्य थुप्रै सरप्राइज पुरस्कारहरु प्राप्त गर्नेछन् ।
दोस्रो चरणमा मदर एण्ड चाइल्ड हस्पिटलका बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुभद्रा अग्रवालले महिलाहरूको स्वास्थ्य सम्बन्धी सचेतामुलक कार्यक्रम गर्ने कट्टेलले बताइन् । यस्तै न्युरो हस्पिटलका वरिष्ठ विशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतीले कोरोना भाइरस सम्बन्धी सचेतामुलक कार्यक्रम गर्ने बताइएको छ ।
सो अवसरमा न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्ट्राईले स्वस्थ्य समाज निर्माण हेतु एवम सामाजिक उतरदायित्वलाई मध्यनजर गर्दै न्यूरो हस्पिटलले यस अघि पनि प्रदेशका बिभिन्न ठाँउहरुमा सचेतनामुलक कार्यक्रम गरेको जानकारी दिए ।