२३ फागुन, उदयपुर । शारीरिक अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले जेलसजाय र क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
जिल्ला अदालतले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ साल जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए । तत्कालै तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो ।
