२९ फागुन, एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरिएको छ ।
कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार यसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।
चीनबाहिर पछिल्लो दुई हप्तामा कोभिड–१९ को संक्रमण १३ गुणा बढेको र ४ हजारभन्दा बढीको ज्यान गएको उल्लेख गर्दै डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले यसलाई महामारीको संज्ञा दिएको बताए।
‘आउँदा दिन र हप्ताहरुमा अझ बढी संक्रमण, मृत्यु र थप देशहरुमा फैलने आकलन हामीले गरेका छौं। त्यसैले हामीले कोभिड–१९ लाई महामारीकै रुपमा लिएका छौं,’ डब्लूएचओका महानिर्देशक गेहब्रेयससले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने।
उनले ‘महामारी’ शब्दलाई हल्का र लापर्बाहीपूर्वक नलिन पनि आग्रह गरे। ‘महामारी शब्दलाई हल्का र लापर्बाहीपूर्वकलिन हुँदैन। यदि यसको गलत प्रयोग भयो भने यसले अनावश्यक त्रास फैलाउँछ। साथै कोभिड–१९ विरुद्धको लडाइँ अब सकियो भन्ने बुझिन्छ र अझ यसले थप मृत्यु निम्त्याउन सक्छ,’ उनले भने।
यसअघि पनि महामारीका रुपमा फैलिएका रोग एकै पटक नियन्त्रण गर्न नसकिएको उदाहरण दिँदै महानिर्देशक गेहब्रेयससले सबै देशले तत्काल कडा कदम चाल्नुपर्ने बताए। यदि कोभिड–१९ को परीक्षण, उपचार, आइसोलेसनमा राख्ने र संक्रमण देखिएमा तत्काल स्वास्थ्य कर्मचारीहरुलाई परिचालन गर्न सके यसलाई रोक्न सकिने पनि उनले बताए।
केही देश कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सफल रहेको पनि महानिर्देशकले बताए।
त्यस्तै महानिर्देशक गेहब्रेयससले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि तयारी, जनस्वास्थ्य, राजनीतिक नेतृत्व र आम सर्वसाधारण एकजुट भएर लाग्न पनि आग्रह गरे। डब्लूएचओले यसअघि नै विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ।