६ चैत, विराटनगर ।
प्रदेश १ मा ६ सय बेडको क्वारेन्टाइन निर्माण भएको छ । प्रदेश सरकारको निर्णय अनुसार नेपाली सेनाले कोरोना भाइरसको संक्रमणको शंका लागेकालाई राख्न क्वारेन्टाइन निर्माण गरेको हो ।
जस अनुसार मोरङको मिक्लाजुङ नगरपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ। प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने घोषणा गरेको थियो ।
प्रदेश सरकारको फागुन २९ गतकोे मन्त्रिपरिषद बैठकबाट मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सोही अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ—५ टाँडीमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको नेपाली सेनाका २ नम्बर बाहिनीपति यामप्रसाद ढकालले जानकारी दिए।
सेनाले १ सय वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको छ । नेपाली सेनाले आफूसँग रहेको टेण्ट, वेडलगायतका सामग्री प्रयोग गरी एकै दिनमा क्वारेन्टाइनस्थल तयार पारिएको जनाएको छ। सहायक रथी ढकालका अनुसार टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा यो क्वारेन्टाइनस्थल निर्माण भएको छ ।
उत्तरी मोरङको टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको फराकिलो मैदान(चौरी) मा क्वारेन्टाइन स्थल बनाइएको हो । क्वारेन्टाइनमा उपचारका लागि खटिने टिम र आवश्यक भौतिक सामाग्री तयार रहेको जनाईएको छ । सहायक रथी ढकालले भने, ‘उपचारमा खटिने टिम पनि तयार छ । क्वारेन्टाइनस्थलका लागि अन्य भौतिक सामग्री पनि छन् ।’
क्याम्पभित्र दुई मिटरको फरकमा वेड राखिएको छ । हाल २५ वटा शौचालय र बाथरुम निर्माण गरिएका छन् । कोरोना संक्रमण भएको आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाइनस्थलसम्म ल्याउनका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
यसैगरी नेपाली सेनाले टाँडीसहित झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहनेगरी क्वारेन्टाइन बनाएको पृतना मुख्यालयले जनाएको छ ।