९ चैत, धनगढी ।
कञ्चनपुर जिल्लामा आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाईएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको हो ।
सुचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने जनाईएको छ । प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला ‘लक डाउन’ हुने बताए । शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर शब्द उल्लेख नगरिएको बताउँदै उनले भने,‘ यो कफ्र्युजस्तै हो । यसलाई लक डाउन भन्दा पनि हुन्छ ।’
अहिले नै नाका बन्द गर्दा भारतबाट घर फर्किनेहरुलाई समस्या पर्ने हुनाले दुई दिनपछि मात्र नाका बन्द गर्न लागिएको उनले बताए । आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ ।