८ चैत, काठमाडौँ ।
सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेपछि करिब ५ लाखको ज्वरो मापन गरिएको छ ।
आईतबार बिहानसम्ममा ४ लाख ६७ हजार २ सय ५ जनाको ज्वरो मापन गरिएको सुरक्षा निकायकातर्फबाट गृह मन्त्रालयमा पठाइएको तथ्यांकमा उल्लेख गरिएको छ ।
पछिल्लो एक साता यता भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिनेको चाप हृवात्तै बढेका छन् । फागुन २५ गतेबाट नेपाल–भारत सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी सम्मिलित हेल्थ डेस्क स्थापना गरिएको थियो।
नेपाल प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय २ स्थानमा हेल्थ डेस्क राखेर थर्मल गन मार्फत् ज्वरो मापन गरिरहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै भारतबाट ८७ हजार मानिस नेपाल प्रवेश गरेको जनाईएको छ ।