२० चैत, काठमाडौँ । चीनबाट खरिद गरेको कोभिड–१९ द्रुत परीक्षण किटको गुणस्तरबारे चौतर्फी आलोचना भएपछि सरकारले यसको गुणस्तर परीक्षण गर्न बुधबार स्वास्थ्य अनुसन्धान परिषद्मा पठाएको छ ।
तर परिषद् स्रोतले भने यसको गुणस्तर जाँच्ने परिषदसंँग यस प्रकारको कुनै क्षमता नभएको स्रोतले बताएको छ । हालसम्म उक्त किटलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण गर्ने ७५ हजार किट हालै खरिद गरको थियो। मन्त्रालयले यसको गुणस्तर निर्क्यौल भएपछि मात्र प्रयोगमा ल्याइने बताएको छ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले उक्त द्रुत परीक्षण किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरेको प्रेस विज्ञप्ति जारी गर्दै बताएका थिए।
तर, स्वास्थ्य अनुसन्धान परिषदका उच्च अधिकारीहरुले भने द्रुत किटको गुणस्तर जाँच्ने कुनै प्रकारको क्षमता आफूहरुसँग नभएको बताएका छन्।
हालको अवस्थामा सरकारले चीनबाट महँगोमा किनेको कोभीड–१९ द्रुत परीक्षण किट बारेमा कसैले अध्ययन, अनुसन्धान गर्न चाहे परिषदले मात्र ‘इथिकल एप्रुभल (नैतिक स्विकृति) दिन सक्छ।
विशेषज्ञहरुका अनुसार मुलुकमा हाल चिकित्सा प्रविधि मूल्याङ्कन गर्न कुनै स्वायत्त संस्था छैन। केही समयअघि स्वास्थ्य सामाग्रीको गुणस्तरलगायतका लागि यस्तो संख्था खोल्नु पर्ने माग उठे पनि हालसम्म यो सम्भव भएको छैन।