५ वैशाख, वीरगन्ज । सरकारले वीरगञ्जमा कोभिड–१९ परीक्षण गर्न दिएको पीसीआर मेसिन दुई दिनदेखि नारायणी अस्पतालमा थन्िकएको छ । आवश्यक उपकरण नहुँदा मेसिन चलाउन नसकिएको अस्पतालले जनाएको छ ।
गत आइतबार वीरगन्जमा ३ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम कम गर्न यहीँ कोरोना परीक्षणको सुविधा हुनुपर्ने चौतर्फी आवाज उठेको थियो। यससँगै प्रदेश सरकारले बुधबार राति अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराएको हो। तर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय एउटा पीसीआर मेसिन आउँदैमा कोभिड–१९ परीक्षण गर्ने ल्याब सञ्चालनमा आउन नसक्ने बताउँछन्। कतिपय उपकरण नेपालमा समेत उपलब्ध नरहेको उपाध्यायले बताए।
अहिले वीरगन्जमा संक्रमित देखिएका ३ जना भारतीय मुस्लिम धर्म प्रचारकको सम्पर्कमा आएका व्यक्तिहरूको र्यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ। शंकास्पदहरूको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाउने गरिएको छ । मेसु डा. उपाध्यायका अनुसार हेटौँडाको ल्याबले पनि थेग्न नसकेपछि ४४ वटा नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
स्रोतका अनुसार प्रदेश सरकारले नारायणी अस्पताललाई उपलब्ध गराएको पीसीआर मेसिन राष्ट्रिय प्रयोगशालामा जगेडा राखिएको थियो। आवश्यकता बुझेरभन्दा पनि दबाबका भरमा मेसिन पठाउँदा यस्तो अवस्था निम्तिएको अस्पतालकै एक फिजिसियनको धारणा छ। भरतपुर, हेटौँडा र जनकपुरको प्रयोगशालामा रहेकै स्तरको पीसीआर पठाउनुपर्नेमा सस्तो लोकप्रियता कमाउने काम मात्र गरिएको उनले आरोप लगाए।
उक्त पीसीआर मेसिन चलाउन समान्य तयारीले नपुग्ने भन्दै नारायणीका स्वास्थ्यकर्मीले त्यसको आर्थिक व्ययभार अस्पतालले मात्र थेग्न नसक्ने जनाए।