७ वैशाख, जनकपुर ।
सप्तरीमा मिर्गौलाका बिरामी एक बृद्धको र्यापिड टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको छ।
सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरका ७१ वर्षीय बृद्धको र्यापिड टेस्ट गर्दा उनको रिपोर्ट पोजेटिभ आएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दासले जानकारी दिए ।
बृद्धलाई सगरमाथा अस्पतालको आइसोलेशनमा राखिएको छ । र्यापीड टेस्ट पोजेटिभ आएकोले उनको थ्रोट स्वाबको नमूना संकलन गरी थप परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
त्यस्तै बृद्धसँगै जाँचको लागि ल्याइएका छोरा (मौलबी) र पत्नीलाई समेत अस्पतालको छुट्टै कोठामा राखिएको र उनीहरुको पनि परीक्षण गरिने मेसु दासले बताए । आरडिटी टेस्टमा पोजेटिभ देखिएका बृद्ध नोवेल अस्पतालमा निरन्तर डायलायसिस गराउँदै आइरहेकोले उनी उच्च जोखिम जोनमा रहेको दासले जानकारी दिए ।
शुक्रबार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितसँग उनको पनि भेटघाट भएको बताइएको छ । १६ जनाको समूह सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा विवाह समारोहमा पनि सहभागी भएका थिए । तर त्यहाँ लकडाउनले गर्दा भारतबाट जन्ती आउन सकेको थिएन।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमख दुनियालाल यादवका अनुसार शनिबार सप्तकोशी नगरपालिका वडा नम्बर १ मा ७४ जनाको र्यापिड टेस्ट गरिएको थियो । उदयपुरमा फेला परेका संक्रमित बरमझीया स्थित मस्जिदमा ७ दिन बसेकोले मस्जिदमा सबैको जाँच गर्ने तयारी भइरहेको छ ।