गुणस्तरहीन राहत वितरण आरोपमा पक्राउ परेका मेयरसहित १२ जना धरौटीमा रिहा

गुणस्तरहीन राहत वितरण आरोपमा पक्राउ परेका मेयरसहित १२ जना धरौटीमा रिहा

११ बैशाख, बारा । राहतमा बाँड्न कुहिएको दाल खरिद–विक्री गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १२ जना बुधबार राती धरौटीमा रिहा भएका छन् । उनीहरू प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा छुटेका हुन् ।

प्रहरीले उनीहरूले कालोबजारी गरेको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाले प्रहरी कार्यालयमै अभियुक्तहरूसित बयान लिई अभियोगपत्र दर्ता गराएका थिए। मेयर यादव मंगलबार, उनका भाइ रवीन्द्र (रोशन) यादव, कोल्डस्टोरका कर्मचारी बच्चु यादव र २७ नम्बर वडाध्यक्ष रेयाजुल हक बुधबार र अन्य अभियुक्त केही दिनअघि पक्राउ परेका थिए।

जिल्ला न्यायाधिवक्ता थापाका अनुसार मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी तिरेका छन् । वडाध्यक्षहरू १ नम्बरका हरिओम सोनार, ७ का सर्फुल्लाह अन्सारी, ११ का सर्वनारायण चौधरी, १३ का राजनप्रसाद कुर्मी, २६ का महेश साह, २७ का हक, २० नम्बर वडा सचिव खेदु मियाँ अन्सारी, मेयरका भाइ रवीन्द्र, कोल्डस्टोरका कर्मचारी कृष्ण यादव र बच्चुले जनही ६० हजार धरौटी तिरेका हुन्।

धनलक्ष्मी दाल मिलका सञ्चालक जैनले चार वर्षअघि कलैया–७ स्थित यादव कोल्डस्टोरमा दाल भण्डारण गरेका थिए। मेयर यादवले त्यहीँबाट ५० क्विन्टलभन्दा बढी दाल नजिकका वडाध्यक्षहरूसित मिलेर विक्री गरेका थिए। उक्त दाल विभिन्न वडाका विपन्न परिवारलाई राहतमा बाँडिएको थियो।

मिल सञ्चालकले छुटाउन ढिला गरेको दाल कोल्डस्टोरसमेत सम्हाल्दै आएका मेयर यादव र उनका भाइले गत साता विक्री गरेका थिए। प्रहरीले उक्त प्रकरणमा संलग्न सबैमाथि खाद्य ऐन २०३२ अन्तर्गत कालोबजारी कसुरमा मुद्दा पेस गरेको थियो। जैनले आफूलाई मिटरब्याज जोडेर ४० लाख रुपैयाँ पुर्‍याइएकाले दाल छुटाउन नसकेको बताए। उक्त दाल प्रशोधन गरेर पशु–आहार बनाउने योजना रहे पनि कोल्डस्टोरले विनासहमति बेचेको उनले प्रहरीलाई बयान दिएका छन्।

प्रजिअको आदेशमा प्रहरीले दाल बरामद गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएकोमा परीक्षणमा गुणस्तरहीन पुष्टि भएको थियो। बाँडिएको बाहेक कोल्डस्टोरमा भण्डारण गरिएको बाँकी ३२ हजार किलो (३२ टन) दाल प्रहरीले सिल गरिसकेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.