कोरोना कहरमा उद्योग चलाउन दिन मोरङ कांग्रेसको माग

कोरोना कहरमा उद्योग चलाउन दिन मोरङ कांग्रेसको माग

११ बैशाख, विराटनगर ।
नेपाली कांग्रेस मोरङले कोरोना जोखिम कम भएका क्षेत्रमा उद्योग संचालन गर्ने सहज वातावरण बनाउन माग गरेको छ । लामो लकडाउनका कारण सुनसरी–मोरङ करिडोरका उद्योगधन्दा बन्द हुँदा त्यसले स्थानीय रुपमा पनि आर्थिक अवस्था जर्जर हुने र श्रमिकलाई जीवनयापनमै कठिन हुने भन्दै यस्तो माग गरेको हो ।

मोरङ कांग्रेसका विराटनगरमा उपलब्ध पदाधिकारी तथा सदस्यहरु सम्लिति बैठकले सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको जिल्ला सभापति डिकबहादुर लिम्बूले जानकारी दिएका छन् । उनले भने,‘‘अधिक जोखिम, मध्यम जोखिम र कम जोखिम भएका क्षेत्र छुट्याएर सरकारले औद्योगिक र आर्थिक गतिविधि गर्न सहज गर्नुपर्छ भन्ने हामीले निर्णय गरेका छौं । यस विषयमा प्रदेश सरकारको पनि ध्यानाकर्षण गर्दैछौं ।’’

सभापति लिम्बूले लामो लकडाउनका कारण गरिखाने वर्गको जीवनयापनमै समस्या हुन थालेको आफूहरुले समेत महसुस गरेको सुनाए । मोरङ कांग्रेसले उद्योग र व्यापारमा परेको प्रभावको विषयमा बुधबार विराटनगरमा सामाजिक दूरी कायम राख्दै मोरङ व्यापार संघमा छलफल चलाएको थियो । अब दोस्रो चरणमा उद्योगमा काम गर्ने श्रमिकहरुसंग छलफल गरिने सभापति लिम्बूले जानकारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.