२६ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ । बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको हो ।
विहिबार थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याइएको छ ।
ती दुई युवक एकसाता अघि भारतबाट आएको खुलेको छ । १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो।
खुल्ला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए।
क्वारेन्टाइनबाट उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना भाइरसको भेटिएको पुष्टि भएको थियो।उनीहरुमा संक्रमण भेटिएकाले उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको छ ।
योसँगै प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँकेको नेपालगन्जमा २३ र रुपन्देहीको कोटहीमाईमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।