२ जेष्ठ, एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले जनाएको छ ।
एनआरएनए यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जनाएको हो ।
अहिलेसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको समेत एनआरएनए बेलायतले बताएको छ । जसमध्ये १ सय १५ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
लन्डनस्थित नेपाली दुतावासबाट यसअघि ६० जना नेपालीको मृत्यु भएको पुष्टि भएको थियो ।
तथ्यांकले ३७ जना उपचारपछि निको भएर घर फर्किएको तथा १७ जना अझै पनि अस्पतालमा उपचारकै क्रममा अस्पतालमा रहेको देखाएको छ ।
हालसम्म बेलायतमा ६ सय ३२ जना नेपालीमा कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका छन् ।
उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका छन् भने ६२ जना अझै पनि आइसोलेसनमै रहेको जनाइएको छ।
एनआरएनए यूकेको हेल्पलाइनको सक्रियतामा तथ्यांक संकलन गरिएको हेल्पलाइनका संयोजक एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी दिए।