४ जेष्ठ, काठमाडौं ।
ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न स्वाब संकलन भएको छ ।
महानगरपालीकाले आइतबार २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ । कोरोनाभाइरस संक्रमणको आशंका लागेका मानिसहरुको जाँचगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न लागेको हो ।
यस्तै शनिबार महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पीसीआर र आरडीटी परीक्षण भएको थियो । महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाईकर्मी गरी १ सय १९ जनाको आरडिटी र २ सय ११ जनाको पीसीआर परीक्षण भएको बताइन् ।
महानगरको योजनाअनुसार नै सबै जनप्रतिनिधिको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको उनले बताइन् । उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगर भित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडिटी परीक्षण गर्न लागिएको बताइन् ।