२५ जेष्ठ, काठमाडौँ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार असफल भईसकेकाले सरकारको असफलतालाई बदल्न तयार हुन सत्तारुढ दललाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्रालय गत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुदै उनले कोरोना, बाढी पहिरो तथा प्रशासनिक व्यवस्थापनमा सरकार पुर्ण रुपमा असफल भईसकेकाले असफल सरकारलाई नबोक्न नेकपालाई सुझाव दिए ।
सरकार तथा प्रधानमन्त्री असफल भएपनि मुलुक असफल हुन नसक्ने भन्दै असफल प्रधानमन्त्री र असफल सरकारलाई बोकेर नहिड्न पनि सत्तापक्षका सांसदहरुलाई सुझाव दिए । उनले भने “कोरोना व्यवस्थापन, बाढी पहिरो व्यवस्थापन, प्रशासन व्यवस्थापन लगायतमा पुर्ण रुपमा सरकार असफल भएको छ ।
प्रधानमन्त्री ज्यू असफल हुनुभएको छ । सत्तासिन पार्टी असफल नबनोस् । त्यसकारण असफल सरकारलाई कतिसम्म बोक्ने ?असफल प्रधानमन्त्रीलाई कतिसम्म बोक्ने ? सत्तासिन पार्टी गम्भीर बनोस् । असफलतालाई बदल्न तयार हुनुहोस् । मुलुक असफल हुन सक्क्तैन ।
सरकार असफल होला, प्रधानमन्त्री असफल हुनुहोला, मुलुक असफल हुनुहुदैन । सत्तासिन पार्टीले गम्भीर निर्णय गरोस् ।” उनले कालापानी , लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणबाट फिर्ता ल्याउने विषयमा बजेट विनियोजन नभएकाले आवश्यक बजेट छुट्याउन माग गर ।
उनले भने “कालापानी ,लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समाहित गरिएको छ । सांसदको लोगोमा पनि हामीले परिस्कृत गरेका छौ । तर सरकारको सबै मन्त्रालयको बजेटमा हेर्यौ हामीले । कर्ही पनि त्यसका लागि बजेट छुट्याइएको छैन ।
के कागजमा मात्रै ल्याउन खोजेको हो लिम्पियाधुरा, लिपुलेक र कालापानी?” उनले मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारलाई ‘चकलेटी सरकार’को संज्ञा दिए । उनले भने “हाम्रो सरकार चकलेटी सरकार हो ।
चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने ।”उनले विद्युतिय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाए । उनले भने “तीनबर्ष भित्र काठमाण्डौ उपत्यकामा सबै विद्युतीय सवारी साधन चलाउने भन्ने अनि अहिले ठ्याक्कै तेश्रो बर्षमा विद्युतिय सवारीलाई निषेध गरेर उपत्यका मात्रै होइन नेपालबाटै वर्हिगमन गर्ने ? ”
‘कसैलाई भोको नराख्ने र भोकले मर्न नदिने’ भन्ने सरकारले अहिले क्वारेन्टाईनमा बसेकालाई आफै खाना लिएर आउ भनेको तथा कसम खुवाएर क्वारेन्टाइनबाट घर पठाउने गरेको भन्दै सरकारको आलोचना गरे । उनले भने “विपद व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयले गर्नु पर्नेमा रक्षामन्त्रीले गर्नु भएको छ ।
तर ईश्वरको नाममा सपथ नखाने मन्त्रीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका कोरोना संक्रमित र संक्रमित नभएकालाई घरबाट बाहिर ननिस्कनु, वृद्धवृद्धालाई नभेट्नु, बालबालिकालाई नभेट्नु, छिमेकीलाई नभेट्नु भनेर कसम खुवाएर घर पठाईरहेका छन् । सपथ खुवाएर पठाईएको छ । यसमा घोर आपत्ती छ । ”
उनले बन्द रहेका शैक्षिक संस्था संञ्चालन सम्बन्धमा शिक्षामन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाए । उनले भने “अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका कतिपय शिक्षा सम्बन्धी कतिपय प्रावधानमा स्वयम् शिक्षामन्त्रीले नै गीत गाउदै हिड्नुभएको छ । अर्को तर्फ शिक्षामन्त्रीले अब विद्यालय चल्छन् चल्छन् भनिरहनु भएको छ ।
अब भर्ना हुन आउ भन्नुहुन्छ । ” तात्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले त्रिभुवन विश्वविद्यालयमा १४ सय प्राध्यापक शिक्षकहरुको दरबन्दी स्वीकृत गरेको स्मरण गराउदै त्यसपछि दरबन्दीअनुसार स्थायी र आंशिक गराउने काम नभएको साथै लकडाउनको समयमा आंशिक कार्यरत शिक्षक, प्राध्यापक, सह प्राध्यापकलाई तलब नदिएकोमा पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले सबैलाई जीविकोपार्जनकलागि आवश्यक रकम अर्थात् राहतको व्यवस्था मिलाउन माग गरे । उनले भने “सामुदायिक विद्यालय र सरकारी विद्यालयमा कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन बनाउने अनि नीजी विद्यालय शुल्क लिनका लागि संञ्चालन गर्ने ? यो विल्कुलै अनुचित हुन्छ ।
विद्यालय चलाउने हो भने सबै चलाउनु पर्छ । सरकारी विद्यालय र विश्व विद्यालय नचलाउने अनि नीजी विद्यालय फि लिन चलाउने ? यो सरकारले गुम्राह गरेको हो । यसको म घोर भत्र्सना गर्दछु । यस्तो हृदय विहिन सरकार बन्नु हुदैन । विश्वविद्यालयमा नवियता विरुद्धको काममा उद्ध्त हुनुहुदैन । ”