२८ जेठ, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताएका छन् । बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिएतापनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताए । उनले भने,‘ प्रदेश १ मा देखिएको कोरोना संक्रमण भारतबाट आएकाहरुबाट भएको छ ।’
प्रदेश १ का बासीन्दा भएपनि भारतबाट आएकाहरु अधिकांश भएको मन्त्री घिमिरेले बताए । भारतबाट आएपनि घर पुग्न पाएका छैनन, घर भएकाको आधारमा जिल्लालाई संक्रमण फैलिएको बनाइयो उनले भने । प्रदेश १ मा समुदाय स्तरमा कोरोना नफैलिएको पनि मन्त्री घिमिरेले दावी गरे । उनले भने-‘समुदायमा संक्रमण हुन दिएका छैनौं, पोजेटिभ देखिनासाथ अस्पताल पुर्याएका छौं ।’
पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएको बताए । भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उनले बताए । भुल्केबाटै ‘थ्रिटि’ टे्रसिङ, टेष्टिङ र ट्रिटमेन्टको काम शुरु भएको मन्त्री घिमिरेको भनाई छ । उनले भने-‘भुल्केको संक्रमणलाई पूणर्रुपमा नियन्त्रण गरिएको छ ।’
भुल्केमा पहिलेकै संक्रमण देखिने संभावना नभएको मन्त्री घिमिरेको भनाई छ । भुल्केसँगै धनकुटा जिल्ला अस्पताल र दमकको संक्रमण पनि नियन्त्रण भएको उनले बताए । भुल्केको अनुभवले, अनुभवी र आत्मबल बढाउने काम भएको मन्त्री घिमिरेले बताए। पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले भुल्के संक्रमणलाई नियन्त्रणमा ल्याउनका लागि गरिएका प्रयासहरुको प्रस्तुती गरेका थिए ।