शोधनान्तर स्थिति बचतमाः आयात घट्यो, निर्यात बढ्यो

२ असार ७७, बुधबार

३ असार, काठमाडौं ।
गएको वैशाख मसान्तसम्म देशको चालु खाता एवं शोधनान्तर स्थिति एक खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा चालु खाता बचतमा रहेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घाटामा थियो ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड दुई लाख रुपैयाँले घाटामा रहेकोमा समीक्षा अवधिमा एक अर्ब एक करोड रुपैयाँले बचतमा रहेको छ । बैंकका अनुसार चालु खाता घाटा एक खर्ब पाँच अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

Advertisement

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ थियो । दश महिनाको अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी नौ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

बैंकका अनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भइ गएको वैशाख मसान्तमा १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ ।

Advertisement

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुई २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा गएको वैशाख मसान्तमा १० खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा गएको वैशाख मसान्तमा एक खर्ब ६० अर्ब सात करोड रुपैयाँ पुगेको छ ।

गएको वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ ।

६ खर्ब ८० अर्ब रेमिट्यान्स भित्रियो

कोरोना भाइरसका कारण नेपालीको प्रमुख श्रम गन्तव्यमा समेत लकडाउन जारी रहेको अवस्थामा रेमिट्यान्स आप्रवाह ६.१ प्रतिशतले कमी भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महिनाको विवरणमा कुल ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको छ । कोरोना भाइरसको जोखिमका कारण प्रमुख श्रम गन्तव्यमा भएको लकडाउन तथा रोजगारीमा देखिएको समस्याका कारण रेमिट्यान्स आयमा गिरावट आएको हो ।

बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको तुलनामा अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३६.८ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आइ सात खर्ब ७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।

तराईमा उपभोक्ता मुद्रास्फीति बढ्यो

तराई क्षेत्रमा सबैभन्दा बढी उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तराई मधेशमा मूल्य वृद्धिको मात्रा बढिरहेको पाइएको हो । केन्द्रीय बैंकका अनुसार तराई मधेशमा उपभोक्ता मुद्रास्फीति ६.३५ प्रतिशत रहेको हो ।

समीक्षा महिनामा काठमाण्डौ उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति रहेको छ । विसं २०७६ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।​

गएको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गतको फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

आयात १३ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७६–७७ को दश महिनामा कुल वस्तु निर्यात ४.५ प्रतिशतले वृद्धि भइ ८२ अर्ब छ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८.९ प्रतिशतले वृद्धि भएको थियो । यस्तै गन्तव्यका आधारमा भारततर्फ १६.१ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य देशतर्फ क्रमशः ३८.६ प्रतिशत र १४.६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, एमएस पाइपलगायतका वस्तुको निर्यात बढेको छ । यस्तै जस्तापाता, तार, पोलिस्टर यार्न तथा अन्य धागो, ऊनी गलैँचा, जुसलगायत वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको दश महिनामा कुल वस्तु आयात १३ प्रतिशतले घटेर रु १० खर्ब २५ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने देशका आधारमा भारत, चीन तथा अन्य देशबाट भएको आयात क्रमशः १७.५ प्रतिशत, ७.६ प्रतिशत, र २.९ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, कच्चा सोयाबिन तेल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेललगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, विराटनगर र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयात घटेको छ ।

चालु आर्थिक वर्षको दश महिनामा कुल वस्तु व्यापार घाटा १४.२ प्रतिशतले घटी भइ ९ खर्ब ४३ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । गएको वर्षको सोही अवधिमा यस्तो घाटा १९.७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ प्रतिशत पुगेको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top