७ असार, पर्सा ।
सत्तारुढ दल नेकपाले ७ वर्षपछि मात्रै बिदेशबाट बिहे गरेर आएका बुहारीहरुलाई नागरिकता दिने भनि गरेको निर्णयको वीरगञ्‍जमा विरोध भएको छ।

नेकपाले विदेशी बुहारीहरुलाई विवाहको ७ वर्षपछि मात्रै नागरिकता दिने भनी गरेको निर्णयको जनता समाजवादी पार्टी वीरगञ्‍ज महानगर समितिले विरोध गरेको हो। ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको निर्णयले नेपाल भारतबीच रहँदै आएको रोटी बेटीको सम्बन्धमा खल्ल पुर्‍याउने भन्दै नागरिकता संशोधन विधेयक खारेज गर्न माग गर्दै जसपा वीरगञ्‍ज महानगर कमिटिले घण्टाघरमा विरोध गरेको हो।

‘‘महिलामाथि विभेद, अत्याचार बन्द गर’, ‘रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन’, ‘मधेसीमाथिको अत्याचार बन्द गर’,महिलामाथि विभेद अत्याचार गर्न पाइँदैन लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर जसपाका युवाहरुले विरोध गरेका थिए।

सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनँइ छ । मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्नका लागि संसोधन विद्येयक ल्याएको तर्क उनीहरुको छ ।

नेकपाले गरेको निर्णयले विदेशबाट विवाह गरी नेपालमा आउने महिलाले लैङ्गिक हिंसा, विभेद, अन्याय र असमानता भोग्नु पर्ने स्थिति आउने तत्कालीन समाजवादी पार्टी वीरगञ्‍ज महानगर कमिटी अध्यक्ष ईश्वर चन्द्र यादवले बताए।

मधेश विरोधी नागरिकता संशोधन विधेयक खारेज गर्नु पर्ने माग गर्दै उनले त्यस्तो नभए थप आन्दोनमा कार्यक्रम गर्ने चेतावनी समेत दिएका थिए। शनिबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गर्दा सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top