काठमाडौं : नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे ।
मनसुनी वर्षाका कारण सलह कीराको बथान साना साना टुक्रामा विभाजित भएको र हावाको वेग उत्तरी-पश्चिमबाट पूर्वतिर गएको हुनाले यो नेपालमा छिरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट वैज्ञानिक डा. सुनिल अर्यालले बताए ।
अहिलको अवस्थामा नेपालमा यो कीरा नदेखिनुपर्ने हो तर अचानक देखियो, यसको नमूना ल्याएर ल्याब परीक्षण गरेपछि मात्र त्यसको सही विश्लेषण गर्न सकिने उनले बताए । ‘भारत र पाकिस्तानसँग बुझ्दा यो सलह कीरा नै हो भनेका छन् । तर, यसको वैज्ञानिक पुष्टि हुन बाँकी रहेको छ,’ उनले भने । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले वर्षका कारण ठूला झुण्डमा रहेका सलह कीरा विभाजन भएका छन् र त्यसको सानो टुक्रा नेपाल छिरेको छ ।
भारतबाट अझै छिर्यो भने यसलाई नियन्त्रण गर्न मुस्किल हुन्छ, अहिले आएका जति नै रह्यो भने त्यसलाई सजिलै नियन्त्रण गर्न सकिने उनको भनाई छ । सचिव भारीका अनुसार भारतबाट अझै आएन भने नेपालमा यो बढ्ने सम्भावना धेरै कम रहेको छ किनकी यसले नेपालमा फुल पार्न सक्दैन, फुल पार्नका लागि मरुभूमि नै चाहिन्छ, त्यसैले अहिले त्यसलाई नियन्त्रण गर्न त्यति गाह्रो हुँदैन । ,याे खबर आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।