बिना परामर्श महत्वपूर्ण विधेयकहरूबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखदः नेपाली कांग्रेस

बिना परामर्श महत्वपूर्ण विधेयकहरूबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखदः नेपाली कांग्रेस

१८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अन्त्य गरिँदा आफूहरूसँग परामर्श वा सूचनासमेत नदिइ निर्णय गरिएकोमा आपत्ति जनाएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आजैदेखि अन्त्य गरेकी थिइन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै विज्ञप्ति निकालेका छन्।

‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्। तर त्यसलाई अवलम्बन नगरी कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरूबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ,’ प्रवक्ता शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ।

उनले संसद अधिवेशन अन्त्यका लागि कांग्रेससँग कुनै परामर्शसमेत नगरिएको बताएका छन्।

‘यसबारेमा प्रमुख प्रतिपक्षी दल कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो,’ उनले भनेका छन्।

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुस्खद भएको कांग्रेसको भनाइ छ।

‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ तर राजनीतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुस्खद मात्रै होइन आपत्तिजनक छ,’ शर्माले भनेका छन्।

संसद अधिवेशन अन्त्य गरेर सरकारले कोरोनालगायत नियन्त्रणमा उदासिनता प्रकट गरेको शर्माले बताए।

‘जनताको जीवन प्रधान कि सत्ता राजनीति?’ उनले भनेका छन्, ‘प्रधानमन्त्री समक्ष सार्वजनिक रूपले प्रश्न राख्दै कांग्रेस संघीय संसद अधिवेशन हठात अन्त्य गरेकोमा असहमति प्रकट गर्दछ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.