२६ असार, विराटनगर ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने भएका हुन् ।
प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस कार्यदलले शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष सम्मानित श्रष्टाहरुको नाम सिफारिस गरेको छ । कार्यदलको सिफारिस अनुसार मन्त्रालयले एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका श्रष्टा डा. नवलकिशोर राईलाई सम्मानित गर्ने भएको छ ।
यसअघि सो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो । भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनु हुने भएको छ । ललितकला तर्फ अनुराधा थापा-मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’-धनकुटा, कविराज पोखरेल-मोरङ, मुनाराज शेर्मा-झापा, पञ्चकुमारी परियार-खोटाङ, प्रेम ओझा-पाँचथर, शिवनारायण पण्डित‘सिंगल’-सुनसरी, साहित्य र कला तर्फ डीवी किराँती-सोलु, रंगकला तर्फ कविता नेपाल-झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी-मोरङ, नृत्यकला तर्फ मायाँ पौडेल-मोरङ, गित/संगीत तर्फ वीरध्वज शिवा-मोरङ, लाई सम्मानित गरिने भएको छ ।
उनीहरुलाई जनही ५०-५० हजार नगद प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पुर्याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान शुरु गरेको हो । श्रष्टाहरुलाई आगामी असार २९ गते सोमबार आरोहण गुरुकुल विराटनगरमा सम्मान गर्ने कार्यक्रम राखिएको कार्यदलका सदस्यसचिव सुर्यराज घिमिरेले जानकारी दिए ।