स्वास्थ्य सामग्री खरिद प्रकरणः कार्की, कोइराला र श्रेष्ठलाई संसदीय समितिले बोलायो

३० असार ७७, मंगलबार

३० असार, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागमार्फत खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे सोधपुछ गर्नका लागि स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार, तत्कालीन स्वास्थ्य सचिव र स्वस्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकलाई संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बोलाएको छ ।

Advertisement

समितिको मंगलबार बिहान ११ बजेदेखि बस्ने बैठकमा स्वास्थ्य सामग्री खरिदको अनुमति दिने समितिका संयोजक रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्की, मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठलाई बोलाइएको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

नेपालमा कोरोनाका संक्रमित भेटिन लागेको र लकडाउन सुरु भएपछि गत चैत दोस्रो साता स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्नका लागि विवादित ओम्नी समूहलाई दिएको थियो ।

Advertisement

उक्त समूहलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा कानुनी अधिकार नभएका मन्त्रीका विज्ञ सल्लाहकार कार्कीलाई दिइएको, कानुनी अधिकार भएका सचिव र महानिर्देशकले प्राप्त जिम्मेवारी पूरा नगरेको संसदीय समितिको प्रारम्भिक अध्ययनबाट देखिएको समिति स्रोतले बताएको छ ।

ओम्नी समूहले ठेक्का प्राप्त गरेअनुसार गुणस्तरीय सामग्री नल्याएको, मागभन्दा कम सामग्री ल्याएकोलगायतका आरोप लागेको थियो । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक श्रेष्ठले उक्त समूहलाई कालो सूचीमा राख्ने बताए पनि पछि प्रक्रिया अघि बढाएका थिएनन् ।

Advertisement

ओम्नीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले अध्ययन थालेको थियो । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सरकारको आलोचना भएपछि विभागका महानिर्देशक श्रेष्ठ र स्वास्थ्य सचिव कोइरालाको सरुवा भएको थियो ।

कोइराला हाल प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयमा कार्यरत छन् । सरकार र ओम्नी समूहबीच १ अर्ब २४ करोड बराबरका स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top