३० असार, काठमाडौं । निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका तीन वटा निजी अस्पतालमाथि स्वास्थ्य मन्त्रालयले छानबिन सुरू गरेको छ ।
उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजले बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो बाहिर आएपछि मन्त्रालयले गुणस्तर मापन तथा अनुगमन महाशाखालाई छानबिन अगाडि बढाउन निर्देशन दिएको थियो ।
छानबिनका लागि महाशाखाले वरिष्ठ औषधि व्यवस्थापक डा. पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अस्पतालले परीक्षणको नाममा नाफा लिने काम नगरेको दाबी गरे ।
मन्त्रालयले जारी गरेको नयाँ ’कोभिड(१९ टेस्टिङ’ सम्बन्धी निर्देशिका अनुसार लक्षणविहीन व्यक्तिको कोरोना परीक्षण गर्न नपर्ने भनिएको छ । तर अहिले अस्पतालहरूमा आपतकालीन शल्यक्रिया गर्नुपर्ने र अन्य बिरामीको पनि परीक्षण भइरहेको छ । त्यस्ता व्यक्तिहरूबाट अस्पतालले परीक्षण गरेबापत शुल्क असुल्ने गरेको पाइएको हो ।
अहिले मन्त्रालयले दुइटा निजी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ । जसमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्टार अस्पताल छन्।